भरतपुर महानगर प्रमूख दाहाल विवादमा तानिँदै

0

टेलिभिजन प्रस्तोता रवि लामिछानेले केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गर्दै जनताका विषयमा दिएको अभिव्यक्तिविरुद्ध नेकपा माओवादी कित्ता खरो प्रतिक्रियामा उत्रिएको छ ।

सामाजिक सञ्जालमा कसैले उनलाई लास बनाउने भनेका छन् भने कसैले धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन् । लामिछानेले प्रचण्ड प्रवित्ति बनेको भन्दै छोरी मेयर, बुहारी मन्त्री, पत्नीको उपचार अमेरिकामा गराउने प्रचण्ड प्रवित्तिका अगाडी राजा किन चाहियो भनेका थिए ।

यहि क्रममा प्रतिक्रिया दिनेमा परिन्, भरतपुर महानगरपालिकाकी प्रमूख रेणु दाहाल जो प्रचण्डपुत्री हुन् । उनले पूर्वमाओवादीका विद्यार्थी नेता तथा काठमाडौंमा उम्मेदवारी पनि पाइसकेका हिमाल शर्माको फेसबुक स्ट्याटसमा लामिछानेको उक्त विचारलाई ‘पागलपन’ भनी टिप्पणी गरेका कारण विवादमा तानिएकी हुन् ।

शर्माले ‘प्रवृत्तिलाई हो भन्दै नितान्त व्यक्तिमाथि खनिनुलाई कस्तो प्रवृत्ति भन्छन् ? लामिछाने ज्यू’ भनी लेखेको स्ट्याटसमा दाहालले ‘पागलपन भनिन्छ दाई’ भन्ने प्रतिक्रिया दिएकी छन् ।

लामिछानेले ‘वाह कमरेड ! जनताका छोरा मरेकोमा पीर परेन तर आफूलाई मार्छु भन्दा बल्ल विप्लव माथि प्रतिबन्ध ? तपाईंसँगै देश बदल्न हिँडेका सबैको जीवन बदलिए तर जनताको अवस्था उस्तै । राजा फालेर जन्मिएका कयौं छोटे राजाहरूको विरोधमा विप्लवले मात्रै होइन सबैले विरोध गर्नै पर्छ, विप्लव प्रवृत्तिको समर्थन कुनै पनि कोणबाट होइन बरु प्रचण्ड प्रवृत्तिको विरोध हरेक कोणबाट गर्नुपर्छ’ भनेका थिए ।

आलोचना, विवाद र विरोधबीच दाहाल मेयरमा निर्वाचित गराइएको थियो । मतपत्र च्यात्नेदेखिका अनेक विवादबाट गुज्रिएर मेयर बनेकी दाहालका विषयमा तत्कालिन समयमा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कडा टिप्पणी गरेका थिए ।

चुनावी सभाका दौरान चितवन पुगेका ओलीले भनेका थिए,‘कांग्रेसले मेयरको चुनावका लागि उम्मेदवार को बोक्यो भनेको त डोकोमा माओवादीकी छोरी रहिछन् ।’ यो बयानबाजी पनि सामाजिक सञ्जालमा निक्कै टिप्पणीसहित भाइरल बनाइएको थियो ।

प्रतिक्रिया