लोक दोहोरी प्रतिष्ठानबाटै अलग हुने बसन्तको घोषणा, रवीले लेखे भावुक स्टाटस

0

दोस्रो नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार बसन्त थापाले लोक दोहोरी प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका छन् ।

बसन्तले सोमबार राति प्रतिष्ठानबाट अलग भएको घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

उनले अघि भनेका छन, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवि ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’

अष्ट्रेलियामा आयोजित कन्सर्टमा रवि ओडले बसन्तद्वारा संगीतबद्ध चर्चित लोकदोहोरी ‘सालको पात…’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाए ।

तर, रविका फ्यानहरुले उनलाई गालीगलौज गरे । रविले भने फेसबुकमा प्रष्टीकरण दिँदै तयारीबिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको बताएका छन् । रविले बसन्तसित कुरा गर्दै माफी पनि मागेका छन् ।

बसन्तले भने रविसँग व्यक्तिगत बैमनश्यता नभएको तर, व्यवसायिक प्रयोजनका लागि अनुमति विना अरुको गीत गाउन नहुनेमा जोड दिँदै आएका छन् ।

बसन्तको निर्णपछि रवीले पनि फेसबुकमा एक स्टाटस लेख्दै आफू शिकारु गायक भएको र सिक्ने क्रममै रहेकाले आफ्नो धरातल नभुल्ने बताएका छन् ।

‘म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ । संगीतलाई निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन ! दर्शक श्रोता शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हुँ । त्यसको अर्थ यो होइन मेरो प्वाख पलाई आकाशमा उडी आफ्नो पृष्ठभूमि नै भुलेको । तिनै मलाई जिताउने आइडल बनाउने आदरणीय दर्शक श्रोता शुभचिन्तकको माया हौसला र खुशियाली बाँडन अहिले म उहाँहरुको साथमा रम्न यात्रामा छु’, उनले भावुक हुँदै भनेका छन्, ‘आफु कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले–हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो । दर्शक श्रोताहरु माझ ‘पर्फ़म’ गरिरहँदा कोही बेला यस्तो माग वा परिश्थिति आउँदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाई गुनगुनाई दिनुपर्ने अनुरोध आउँछ । ‘सालको पातको टपरी’ मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो । अहिले जन–जनको मुखमा झुन्डिएको यो गीतको ‘फर्माइस’ दर्शकहरुमाझबाट आयो । मैले यो गीत पुरा र राम्ररी आउँदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउने पर्ने बाध्यता आइलाग्यो र शुरुमै मैले आग्रह गरेको थिए कि यदि त्रुटी गल्ति भएमा क्षमा प्रार्थी हुनेछु !’

साथै उनले उक्त गितलाई होच्याउने हेतुले नगाएका प्रष्टीकरण दिएका छन् ।

‘अहिलेको सर्वाधिक दर्शकबाट रुचाइएको लोकप्रिय गीत ‘सालको पातको टपरी’ लाई बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन । सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट माग भै आउँदा, श्रद्धापूर्वक गाउने प्रयास मात्र गरेको हुँ, त्यसैले यस सिर्जनासँग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउँदछु, उनले भनको छन्,‘अनि आदरणीय सर्जकज्युहरुबाट संधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भै रहनेछ र हामी जस्ता संगीतका बिद्यार्थीहरुले सिक्ने अघि बढ्ने अवसर प्राप्त हुनेमा आशाबादी छु ! अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाइ यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तरहृदय देखि सम्मान गर्दै धन्यबाद ज्ञापन गर्न चाहन्छु, केहि उठेका बिषयमा सम्मानपुर्वक आफ्नो भावना राख्न पाइन्छ ।’

प्रतिक्रिया