पानी नहुँदा खेतिपाती गर्न पाएका छैनन् माझखण्डवासीले

0

दक्षिण ललितपुरमा पर्नेे बागमती गाउपलिका अन्तर्गत  माझखण्डवासीलाई हिउँद–बर्खा खानेपानीको हाहाकार पर्छ। पशुपालन, कृषि र पर्यटन सम्भावना बोकेको यो क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेकै  खानेपानी हो। पानी नहुँदा किसानहरूले खेतिपाती गर्न पाएका छैनन्। उनीहरू पानीको व्यवस्थापन गर्न सके यो क्षेत्रमा प्रशस्त उब्जनी हुने बताउँछन्।

तर, सरोकारवाला निकायले पनि यसतर्फ चासो दिएको छैनन्। बरु केही जग्गा व्यवसायीले खानेपानीको समस्या हल गर्नुको साटो केबलकारको सपना देखाएका छन्। ‘डेस्टिनेसन माझखण्ड’ नामक संस्थाले यो क्षेत्रमा केबलकारको अवधारणा अघि सारेको हो। त्यसको लागि डिपिआर र इआइए रिपोर्ट पनि तयार भइसककेको छ। तर, यसमा स्थानीय समहत छैनन्। उनीहरू सामान्य खानेपानीको समेत हाहाकार परेको क्षेत्रमा केबुलकारको सपना देखाउनु दुःखद् रहेको बताउँछन्।

‘खानेपानी लिन करिब १ घण्टा तल खोलामा झर्नुपर्छ। यति टाढाबाट बोकेको पानी पिउने कि, गाईबस्तुलाई दिने कि कृषि उत्पादनमा प्रयोग गर्ने भन्ने छ,’ स्थानीय सरोज लामाले भने, ‘तर, यही ठाउँमा केही व्यवसायीले स्थानीयलाई केबलकारको सपना देखाएका छन्, अहिले हामीलाई केबलकार होइन, पानी चाहिएको हो,’ उनले भने।  खानेपानीको समस्याका कारण प्रशस्त खेतीपाती गर्न नपाएको उनको गुनासो छ।

यो क्षेत्र धेरै उचाइमा पर्ने भएकाले पनि खानेपानी छैन। वरिपरि मूल मुहान नभएकाले पानीको समस्या परेको अर्का स्थानीय श्यामकृष्ण लामाले जानकारी दिए। उनले  खानेपानीको हाहाकारका कारण कृषि पेशा गर्न अप्ठेरो परेको बताए।

ललितपुरको माझखण्डका किसानहरूले पानी नहुँदा खेतिपाती गर्न पाएका छैनन्। उनीहरू पानीको व्यवस्थापन गर्न सके यो क्षेत्रमा प्रशस्त उब्जनी हुने बताउँछन्। तर, सरोकारवाला निकायले पनि यसतर्फ चासो दिएका छैनन्। बरु केही जग्गा व्यवसायीले खानेपानीको समस्या हल गर्नुको साटो केबलकारको सपना देखाएका छन्।

‘यो क्षेत्र पर्यटकीय क्षेत्र मानिन्छ। तर, पानीको निकै समस्या छ, त्यसबारे गाउँपालिकाले पनि कुनै चासो दिएको छैन,’ उनले भने, ‘खानेपानीको समस्या समाधान हुने हो भने हामीले यस क्षेत्रलाई कृषि र पर्यटनको उर्बर ठाउँ बनाउन सक्छौं।’

यस क्षेत्रका स्थानीयले डोकोमा बोकेर खानेपानीको जोहो गर्छन्। बर्खाको पानी प्लास्टिक पोखरीमा जम्मा गरेर प्रयोग गर्छन्। तर, हिउँदमा उक्त पानी सकिन्छ र समस्या पर्छ। खानेपानीको हाहाकार भएको यो क्षेत्रका वासिन्दालाई अहिले अर्को चटारो पनि छ। भूकम्पमा लडेको घर अर्मपर्म गरेर ठडाउँदै छन्। घर बनाउन पनि प्रशस्त पानी नभएको उनीहरूको भनाई छ। ‘गाउँपालिकाले यस्तो घर बनाउनु भनेर हामीलाई केही तालिम दिएको थियो। तर, पानीको हाहाकार नै छ,’ स्थानीय उत्तम बम्जनले भने, ‘खानेपानीको समस्याको कारण घर बनाउन त कठिन परेको छ नै, त्यसपछि कृषि काममा पनि पुग्दो खानेपानी छैन।’

उनका अनुसार केही व्यवसायीहरूले यस क्षेत्रमा केबलकार सञ्चालन गर्ने भनेर स्थानीयलाई होमस्टे शैलीमा घर बनाउन आग्रह गरेका छन्। तर, खानेपानीको बन्दोबस्त गर्न स्थानीयलाई निकै कठिन हुने गरेको छ। पर्यटन विकासको अर्को आधार माझखण्ड पर्यटन विकास परियोजनाले छपेली–माझखण्ड केबलकार (२.८ किमी) केबलकार सञ्चालन गर्ने योजना अघि बढाएको हो। केबलकार सञ्चालन भएपछि पर्यटकको ओइरो लाग्ने अनुमान गर्दै व्यवसायीले स्थानीयलाई फकाउँदै आएका छन्। यो प्राकृतिकरूपमा भरिपूर्ण पडाही डाँडो मानिन्छ। यहाँ रमिते भ्युटावर, रुद्रेश्वर महादेव, बुद्ध विहारलगायत धेरै पर्यटन आर्कषणका ठाउँहरू छन्। यी क्षेत्रलाई चिनाउनुको साटो उल्टो केबलकार देखाएर स्थानीयलाई भाड्न खोजेको अर्का स्थानीय श्याम तामाङले जानकारी दिए।

उनले यातायात सहज, खानेपानी र प्रचारप्रसार भए यी ठाउँमा पर्यटनको ओइरो लाग्ने बताए। ‘यसलाई चिनाउने विकल्प केबलकार मात्रै होइन, यहाँ अनेक पक्षहरू छन्, तिनलाई आधार मानेर अघि बढ्ने हो भने, यति धेरै ठूलो सपना देख्नुपर्दैन,’ उनले भने।

ललितपुरको ग्रामीण भेगमा पर्ने माझखण्डबाट तराई र हिमशृंखला अवलोकन गर्न सकिन्छ। यहाँका डाँडापाखा दुर्लभ मानिन्छन्। अहिले यो पहाडी भेग सबैभन्दा विकट गाउँ मानिन्छ। बाटोघाटो पुगे पनि यहाँ सरकारी सेवा सुविधा पर्याप्त पुगेको छैन। पछिल्लो समय यस क्षेत्रको पर्यटन विकासको लागि जनप्रतिनिधिले पनि यस क्षेत्रमा खानेपानी बन्दोबस्तको लागि कुनै पहल नगरेको स्थानीयको भनाई छ।

बाग्मती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले गाउँपालिकामा खानेपानी समस्या भएकाले त्यसलाई समाधान गर्न बजेट पनि छुट्याइएको जानकारी दिए। उनले भने, ‘हामीले जसरी पनि खानेपानीको समस्या हल गरिदिन्छौं,’ उनले भने, ‘त्यसको लागि नदी र मुहान अवलोकन भइरहेको छ।’

यसबारे डेस्टिनेसन माझखण्ड कम्पनीका अध्यक्ष गोपाल सञ्जेलले खानेपानीको विषयमा पनि आफूहरूले चासो दिएको जनाए। उनले माझखण्ड ओझेल परेको गन्तव्य भएकाले पनि त्यसलाई चिनाउन केबलकारको अवधारणा अघि सारेको बताए।  ‘यो क्षेत्रलाई हरेक प्रकारबाट विकास गर्न सकिन्छ, केबलकार सञ्चालन गर्न सकियो भने अझ राम्रो हुन्छ,’ उनले भने।

प्रतिक्रिया