दुबईमा यस्तो रह्यो झापाली समाजको सांस्कृतिक कार्यक्रम

0

promgrame-in-uae
दुबई । झापाली समाज युएईको दुबई क्षेत्रीय कमिटीले शुक्रबार दुबईको एभरेस्ट इन्टरनेसनल होटलमा भव्य रुपमा साँस्कृतिक कार्यक्रम गरेको छ । आगामी तीजको अवसरमा सेप्टेम्बर २ मा आयोजना हुने तीज विशेष कार्यक्रमको तयारीका रुपमा भएको साँस्कृतिक कार्यक्रममा करिब ५० जना कलाकारहरु गीत, नृत्य, कविता, गजल, मुक्तक, हाँस्यव्यंग्य तथा विविध क्रियाकलापमा सहभागी भए ।

सांगीतिक कार्यक्रम रमझमपूर्ण र उल्लासमय देखिन्थ्यो । हलमा खचाखच भरिएका दर्शकहरुले हुटिङ, तालीका अतिरिक्त हरेक प्रस्तुतिहरुमा नाचेर सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी पोखराका अमृत गुरुङले झापाली समाजका कलाकारहरुले प्रस्तुत गरेका विविध कार्यक्रमहरुले दर्शकहरुले पूर्ण मनोरन्जन लिएको प्रतिक्रिया दिए ।

कार्यक्रममा सहभागी सबैलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको थियो । झापाली समाज, अबुधाबी क्षेत्रीय समितिको पहलमा अबुधाबीको युनिभर्सल हस्पिटलका चिकित्सकको टोलीले सहभागीहरुको स्वास्थ्य परीक्षण गरी बिरामीहरुलाई उचित परामर्श दिएको थियो ।

त्यसका अतिरिक्त कार्यक्रममा जुलाई महिनाभरि जन्मदिन भएका आफ्ना सदस्यहरुको सामूहिक रुपमा बर्थडे मनाइएको थियो ।
समाजका दुबई क्षेत्रीय कमिटीका अध्यक्ष डीबी झापालीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय महासचिव टेकनाथ अधिकारीले गरेका थिए । नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनका केन्द्रीय सदस्य रेशम लामा विशेष अतिथिका रुपमा उपस्थित भएर झापाली समाजले गरेका रचनात्मक कार्यक्रमको प्रशंसा गरेका थिए ।

कार्यक्रममा गुल्मी समाज, तमु समाज, अन्तराष्ट्रिय नेपाली कलाकार समाज र झापाली समाजका केन्द्रीय तथा अबुधाबी, अलऐन, रास अल खेमा, सारजहा क्षेत्रीय कमिटीका अध्यक्षहरु विशेष अतिथिका रुपमा सहभागी भएका थिए ।

समाजका आजीवन, सक्रिय र साधारण सदस्यहरु साथै अन्य जिल्लाका शुभेच्छुकहरु कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमका संयोजक पारस लामा र सहसंयोजक तारा खनालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद प्रकट गरेको उक्त कार्यक्रम चाँदनी आँशु, पारस लामा, माइनसप्लस संग्रौला, मुना बुढाथोकी, हरि कटुवाल र उर्मिला बस्नेतले पालैपालो रोचक तरिकाले सांगीतिक कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा गत २०३ औं भानुजयन्तीमा आयोजित अनलाइन कविता प्रतियोगितामा सहभागी भई प्रथम हुने रोहित भण्डारी, द्वितीय शान्ता नेम्वाङ, तृतीय कमला खड्का र सान्त्वना भरत बुढाथोकीलाई प्रमाणपत्रका साथमा पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सबैलाई प्रशंसापत्र दिइएको थियो ।


13819533_1027150854029310_1029488621_n 13840598_1027145580696504_107036660_o

13835485_1027147997362929_1499815981_o

13706270_1027151030695959_490984460_n

प्रतिक्रिया